काठमाडौँ, १७ वैशाख । कोशी प्रदेश विभागीय टोली नेपाल पुलिस क्लबलाई एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो पटक हराउन सफल भएको छ । एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मंगलबार पुलिसलाई ३७ रनले स्तब्ध पार्दै कोशीले विजयी सुरुवात गरेको छ ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा ९४ रनको अत्यन्त सहज लक्ष्य पछ्याएको पुलिस २४.५ ओभरमा ५६ रनमा अल आउट भयो । मात्र ३४ रन जोड्दा पुलिसले ६ विकेट गुमायो । रोहन बिकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दिपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरी रनको खाता नखोली आउट भए ।
त्यसपछि पुलिस खेलमा फर्कन सकेन । कुनै पनि खेलाडी क्रिजमा कुनै पनि समय टिक्न सकेनन् । श्रवण यादवले ८ रन जोडे ।
कोशीको लागि पहिलो खेल खेलेका देब्रे हाते स्पिनर प्रेम कामतले डेब्यु खेलमै सानदार प्रदर्शन गरे । ९ ओभर बलिङ्ग गर्दै ३ मेडन सहित १५ रन मात्र खर्चेर ५ विकेट लिए । अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ९ ओभर बलिङ गर्दे २ मेडन सहित १६ रन दिएर ३ विकेट लिए ।
त्यस अघि टस जितेर पुलिसले फिल्डिङ रोजेको थियो । कोशी प्रदेशले २९.३ओभरमा ९३ रन बनायो।ोशीको लागि रुपक बरालले सर्वाधिक २१ रन बनाए । मिनाश थापा र सुमन गहतराजले समान १५ रन जोडे।बलिङमा पेसर सुनिल दौल्यालले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिए। विपिन खत्री र चित्र बिस्टले समान २ विकेट झारे ।
प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को खेल आज सुरु भएको हो । दोश्रो खेलमा बुधवार कोशी प्रदेशले भारतको आसाम क्रिकेट टिमसंग खेल्नेछ । कोशीले आसामलाई हराए फाइनलमा पुग्नेछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समुह ‘बि’ मा पुलिस, कोशी र भारतको आसाम क्रिकेट टिम छ ।
प्रतिक्रिया दिनुहोस्