सहिद र बेपत्ता परिवारका मागलाई गम्भीरतापूर्वक लिएको दावी

कैलाली, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन ।

मंगलबार धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उनले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताए । उनले भने, “हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ । म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौँ ।

यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो ।”
कार्यक्रममा सहिद परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सहिद र बेपत्ता परिवारको मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“समस्या जहाँ हुन्छ, त्यस समाधान पनि हुन्छ, सोहीअनुसार यहाँहरूले राखेका माग सम्बोधनको प्रयास गर्नेछौँ, नसके केन्द्रमा पु¥याएर अगाडि बढाउनेछौँ”, उनले भने ।

अध्यक्ष प्रचण्डले द्वन्द्वमा भएका घटनाको निकाश दिन सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनेको र त्यसकै आधारमा बाँकी प्रक्रियाले गति लिने धारणा राखे ।

उनले आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, प्रमाणपत्र वितरणलगायत सहिदहरूको सम्मान र स्मृतिका लागि आवश्यक काम गरिने बताए ।

सहिद र बेपत्ता भएका परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

यसैगरी, अध्यक्ष प्रचण्डले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन । जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ झुँगामा मंगलबार आयोजित खबरदारीसभामा उनले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै सक्दैन भने ।

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुननदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन तथा आवश्यकतानुसार संशोधन पनि गर्नुपर्ने बताए ।

 

देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्