काठमाडौँ, १७ वैशाख । प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकको मागबारे गम्भीर हुन आग्रह गरेका छन । मंगलबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए ।
प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए ।
शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे ।
शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए । “सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ”, आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उनले बताए ।
सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे । सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जङ्गली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन । सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन ।
कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन ।
प्रतिक्रिया दिनुहोस्