काठमाडौँ, १६ वैशाख । आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गरेका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका छन । उनिहरूले सरकारले वार्तामार्फत शिक्षकहरूको जायज मागको सम्बोधन गर्न एवं भर्ना र पठनपाठन सुरू गर्ने अवस्था गर्न जोडदार माग गरेका छन ।
सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे । “आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरूपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ ।
आन्दोलनमाथि सरकारी दमनको भत्र्सना गर्दछु”, सांसद ज्वालाले भने । उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराए ।
सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए । “हिजो शिक्षकहरूमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानार्कषण गराउन चाहन्छ”, सांसद अर्यालले भने ।
उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे ।
यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्नेमा जोड दिए ।
बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानार्कषण गराइन ।
अर्का सांसद डा तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराइन । उनले तत्काल गल्छी फराकिलो बनाउनका लागि ढुङ्गा निकाल्ने अवस्था सिर्जना गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए । सांसद निशा डाँगीले डिजिटल नेपालको परिकल्पना कार्यान्वयनमा जोड दिइन ।
सांसद दीपकबहादुर सिंहले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारको ध्यानार्कषण गराए । सांसद नागिना यादव, पुष्पबहादुर शाह र प्रतिमा गौतमले नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्ने अभिव्यक्ति प्रमाणहीन भएको भन्दै आपत्ति जनाए ।
उनिहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बिना प्रमाण र आधारहीन आरोपपूर्ण अभिव्यक्ति फिर्ता लिनुपर्ने उनिहरूले बताए । यस्तै, सांसद ठाकुरप्रसाद गैरेले पाल्पा जिल्लाको सिद्धेश्वरमा आइतबार राति भएको दुर्घटनामा मृतकहरूको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूको गराउन माग गरे ।
यसैगरी,सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छ । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनिहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद् पक्ष हो भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने धारणा राखे ।
साथै विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाउनुपर्ने धारणा राखे ।
उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते भएको घटनाप्रति घोर भत्र्सना गर्दै राज्यले ऐन बनाएर शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले विगतमा सरकार र शिक्षकहरूबीच भएको सम्झौता कार्यान्वयन गर्न माग पनि गरे ।
माओवादीकै छिरिङ डम्डुल लामा (भोटे) ले हुम्लामा हालैको वर्षापछिको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो नोक्सानी भन्दै पीडितलाई राहत र क्षतिपूर्तिको माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसमक्ष माग गरिन ।
शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित रहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन । साथै उनले पत्रकारमाथि भएको आक्रमणको निन्दा गरिन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले शिक्षकमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद रहेको भन्दै शिक्षकको माग पूरा गर्न सरकारसमक्ष माग गरे । उनले शिक्षक आन्दोलनका क्रममा पत्रकारमाथि आक्रमण भएको निन्दा व्यक्त गरे ।
साथै आवासीय चिकित्सकको जायज माग यथाशीघ्र सम्बोधन गर्न पनि माग गरे ।नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक आन्दोलनका क्रममा आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसमक्ष माग गरे ।
प्रहरी र शिक्षक दुवै राष्ट्रसेवक भएको जुनसुकै पक्षबाट भएको दमन राम्रो नभएको भन्दै शिक्षकहरूलाई संयमित भएको आफ्ना घोषित कार्यक्रम अगाडि बढाउन तथा सुरक्षाकर्मीलाई पनि संयमित भएर प्रस्तुत हुन ध्यानाकर्षण गराए । उनले विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसद्लाई शिक्षामन्त्रीले जानकारी गराउन माग गरे ।
आम जनता पार्टीका सांसद प्रभु साहले गएरातिको हावाहुरीसहितको असिनापानीले मधेस प्रदेशको बारा, रौतहतलगायत जिल्लामा मकैबाली, आँपलगायत उत्पादन नष्ट भएको, बिजुलीका पोल ढलेर विद्युत् र सञ्चार प्रभावित भएको भन्दै पीडित किसानलाई राहत र अवरूद्ध सेवा चाँडो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सर्लाहीको बसबरियास्थित विद्यालयको व्यवस्थापकीय सुधारमा ध्यान दिन आग्रह गरे । सांसद रणेन्द्र बरालीले शिक्षकको माग सम्बोधन गर्न तथा दलितमाथि भइरहेको भेदभावजन्य घटनाको अन्त्य गर्न माग गरे ।
सांसद कान्तिका सेजुवालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा घाइते शिक्षक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन ।
प्रतिक्रिया दिनुहोस्