प्रतिगमनकारीको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड

 

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताएका छन ।

शनिबार नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गरेका छन । त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित हु्न दलका सांसदहरुलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो ।

त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन”, प्रधानमन्त्री ओलीले भने, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए ।

‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्रीले पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्