फिल्म ‘ऊनको स्वीटर’ बैशाख २६ गतेबाट प्रदर्शनमा आउने

 

काठमाडौँ, ९ वैशाख । आगामी बैशाख २६ गतेबाट प्रदर्शन हुन लागेको अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘ऊनको स्वीटर’का प्रचार सामाग्रीहरुले दर्शकलाई आकर्षित गरिरहेका छन् । चाहे ‘मखमली’ गीत होस् वा गत साता सार्वजनिक ‘काफ्ले’ गीत, दुईवटै लोकप्रिय बनेका छन् । फिल्मको टिजरलाई पनि दर्शकले रुचाएका छन् । ‘काफ्ले’ गीतले त यतिबेला टिकटक जस्ता प्लेटफर्म कब्जा नै गरेको छ ।

गीतको भिडियो सार्वजनिक भएको ६ दिनमै युट्युबमा १४ लाखभन्दा धेरै भ्यूज मिलिसकेको छ । टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो बनाएका छन् । त्यसमा आम मानिसदेखि सेलिब्रेटीसम्म छन् । गीत सार्वजनिक कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएका झुमा लिम्बू र सुजन चापागाईंको भिडियो क्लिप्स समेत टिकटकमा छ्यापछ्याप्ती छ ।

गीतले लोभलाग्दो चर्चा बटुलिरहँदा निर्माण टिमले फरक शैलीमा फिल्मका दुई सहायक कलाकार परीक्षा लिम्बू र एलेक्स पारसको पात्र परिचय गराएको छ । टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शट्र्समार्फत उनीहरुले ‘काफ्ले’ गीतमा नृत्य गरेको भिडियो सार्वजनिक गर्दै फिल्ममा परीक्षा ईक्सा लिम्बू र पारस डम्बर काफ्लेको भूमिकामा रहेको जनाइएको छ ।

 

कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा फिल्मका निर्देशक नवीन चौहान भन्छन्, ‘पात्र परिचयको रूपमा सार्वजनिक गरिएको भिडियोहरू छोटो समयमा नै लाखौं दर्शकले हेरिसक्नु भएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । यसैले प्रविधिलाई अंगाल्नु अहिलेको अपरिहार्यता हो ।’

सांगीतिक कम्पनी आर्टमाण्डूको निर्माण रहेको फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् । विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगर लगायतको पनि फिल्ममा अभिनय छ । चिन्तनराज भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको फिल्ममा नवीन चौहानको लेखन तथा सुरज कटुवालको सह–लेखन छ ।

 

प्रतिक्रिया दिनुहोस्