सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लियो

 

काठमाडौं, ९ वैशाख । सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ । सोमबार टुसाल युथ क्लबलाई श्री कुमारीले २–१ गोल अन्तरले हरायो ।

एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो । निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे । पहिलो हाफ १–० को नतिजामा सकियो ।

खेलको ७६ औं मिनेटमा विनोद धमालाको गोलमा श्री कुमारीले अग्रता दोब्बर गर्यो । त्यसपछि खेल सकिन ६ मिनेट बाँकी रहँदा सुजन माझीले टुसालको लागि गोल फर्काए । तर यो गोल सान्त्वना गोलमा सिमित भयो ।

श्री कुमारीको यो तेस्रो जित हो । सात खेलबाट ९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । टुसालको भने यो चौथो हार हो । १ जित र ३ बराबरीमा उसँग ६ अंक रहेको छ ।

यस्तै, सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको छ । ब्वाइज युनियनको यो दोस्रो जित हो ।

एन्फा कम्प्लेक्समा सोमबारको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो । विशेष लामाले गोल गरे । सरस्वती १–० ले अगाडि बढ्यो । खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका दिव्य विक्रम चौधरीले बराबरी गोल फर्काए । पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकियो ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल भएन । इन्ज्युरी समयको पहिलो मिनेटमा मिलन लिम्बुले गोल गरे । यो गोल नै निर्णायक बन्दा ब्वाइज युनियनले २–१ को जित हात पार्यो ।

ब्वाइज युनियनले सात खेलमा दोस्रो जित निकाल्दै ९ अंकका साथ लिगको पाँचौं स्थानमा उक्लिएको छ । सरस्वतीको यो पाँचौं हार हो । टोली ६ अंक सहित लिगको १२ औं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्