काठमाडौँ, ९ वैशाख । रुपन्देही र सुनसरीमा नदीमा डुबेर पाँच जना बेपत्ता भएका छन । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए ।
बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए ।
मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनि बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे । हाल विद्यालय बिदा रहेकाले उनि दुई दिनअघि मात्रै मूल घर आएका थिए ।
बेपत्ता बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । सोमबार दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए ।
यस्तै, सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । सोमबार बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका यहाँको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदिमा दुवै जना डुबेर बेपत्ता भएको बताए ।
दुवै जना मामाभाञ्जा हुन् ।
भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जादा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्