‘निरंकुशताको पक्षमा आवाज उठाउनु आन्दोलन नभई अपराध हो’

 

काठमाडौँ, ७ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने बताएका छन् ।

उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त विचार प्रस्तुत गरेका हुन् ।
शनिबार सम्पन्न तीन दलबीचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको उनले जानकारी दिए ।

‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिने? विद्रोह के हो? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ । एउटा साझा व्याख्या आवश्यक छ,’ उनले उल्लेख गरे ।

‘यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ । तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन ।

त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो ।’ उनले कुन गतिविधि आन्दोलन हो ? कुन आपराधिक वा इतिहासविरुद्धको हो ? कुन जनताको आवश्यकतासँग मेल खान्छ ? भन्ने विषयमा गणतन्त्रवादी दलहरूले स्पष्ट दृष्टिकोण लिनुपर्नेमा जोड दिए ।

‘एकल परिभाषाका आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने शब्दहरूको प्रयोग गरिनु हुँदैन । निरंकुशता वा तानाशाहीतर्फ फर्किनका लागि गरिने प्रयासलाई आन्दोलन भन्न मिल्दैन । कम्तीमा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीहरूले यस्तो शब्द प्रयोग गर्नु अनुचित हुन्छ । त्यो आन्दोलन हुनै सक्दैन,’ उनले स्पष्ट पारे ।

‘त्यस्ता गतिविधिहरू इतिहास र जनहित विपरीत, लोकतान्त्रिक मर्म र भावनाविपरीत षड्यन्त्र मात्र हुन्छन् । त्यसलाई आपराधिक र समाजविरोधी क्रियाकलापको रूपमा परिभाषित गर्नुपर्छ ।’

उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे ।
संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए । तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे ।

‘संविधानको समीक्षा गर्दा एउटा शर्त रहन्छ । हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौं । हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो । जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनको भनाइ थियो ।

उनले देशमा ‘लोकतन्त्र नभई नेतातन्त्र भएको हो’ भन्ने भनाइप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘नेतातन्त्र भन्ने शब्द प्रयोग गरेर तीन जना नेताहरूलाई लक्षित गर्दै लोकतन्त्र, प्रणाली र संविधानप्रति नै आक्रोश पोखिने प्रयास भइरहेको देखिन्छ । कसैले जानाजान, कसैले बोल्न नसकेर वा ईष्र्या बस त्यसो गरिरहेको अवस्था देखिन्छ,’ उनले भने ।

‘नेतातन्त्र भन्ने कुनै व्यवस्था हुँदैन । नेताहरूमा कमजोरी हुन सक्छ । उनीहरूको आलोचना गर्न सकिन्छ । तर, नेताविनाको लोकतन्त्र सम्भव छैन। नेतातन्त्र भन्ने शब्दावली लोकतन्त्रको उपहास हो।’

लोकतन्त्रमा नेताको भूमिका अनिवार्य हुने भन्दै ‘नेतातन्त्र’ भन्ने शब्दले लोकतान्त्रिक मूल्य र संरचनामाथि प्रहार गर्ने बताए ।

‘लोकतन्त्रमा नेतातन्त्र भन्ने कुरै हुँदैन । नेता नभएको पार्टी हुँदैन। कोही नेता गलत हुन सक्छ, तर तन्त्रको रूपमा नेतातन्त्र भन्ने मिल्दैन । मुख्य कुरा लोकतन्त्रको पक्षमा हो कि होइन भन्ने हो,’ उनले स्पष्ट गरे ।

‘यसरी भन्नाले कतै निरंकुशता, दलविहीनता वा निर्दलीयतालाई प्रोत्साहन दिन खोजिएको त होइन? यदि त्यसो हो भने, त्यो जनतालाई बुझाउनु आवश्यक छ ।’गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने आवाज उठिरहे पनि व्यवहारमा त्यो सम्भव हुन नसकेको उनको टिप्पणी थियो ।

‘हामी गणतन्त्रवादीहरू मिलेर शान्ति सम्झौता गरेका थियौं, संविधानसभा गठन र गणतन्त्र स्थापनामा सँगै लागेका थियौं । तर, आजको दिनमा हामी किन एक ठाउँमा उभिन सकेनौं भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,’ उनले भने ।

‘मैले पनि अनेकौं पहलहरू गरेको हुँ, तर हामीबीच एकता कायम हुन सकेन । यसले कतै न कतै समस्या रहेको स्पष्ट हुन्छ ।’
उनले गणतन्त्र पक्षधरहरूलाई आत्मसमीक्षा गरेर मात्रै एकता सम्भव हुनेमा जोड दिए ।

‘कहाँ गल्ती भयो? जनताको भावना र आवश्यकता सम्बोधनमा, विकासको दृष्टिकोणमा हाम्रो त्रुटि के रह्यो? त्यो आत्मसमीक्षा गरेपछि मात्र हामीबीचको एकता सार्थक र परिणाममुखी बन्न सक्छ,’ उनले भने ।

पार्टीहरूमा केही न केही रोग रहेको दाबी पनि उनले गरे । ‘माओवादीले एमालेलाई, एमालेले कांग्रेसलाई दोष दिन सक्छन्। तर सबै पार्टीहरू अलिकति रोगी छन्,’ उनले भने ।

‘पहिलेको जस्तो ताजगी छैन, आन्दोलनकालको जस्तो जनसंगठन छैन । त्यसैले उपचार आवश्यक छ ।’उपचारको पहिलो उपाय आत्मसमीक्षा हो भन्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्