काठमाडौं, ७ वैशाख । गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको छ । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच शनिबार अपरान्ह साँझ भेट भएको थियो । करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।
‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ खरेलले बैठकपछि भने ।
साथै, उनले समसामयिक राजनीतिक विषयसँ विविध छलफल भएको बताए ।विद्यमान देशको परिस्थितिबारे तीन शीर्ष नेताहरू बैठक बसिएको हो । विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशीतासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ,’ खरेलले भने । बैठकमा संक्रमणकाली न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे नेताहरूलाई जानकारी गराउने काम भएको उनले बताए ।
यसैगरी, नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन ।
नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरुले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरु एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “अहिले गाउँ रित्तो भएको छ, युवाहरु विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।”
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरु शक्तिसँग भिड्नका लागि सबैभन्दा कांग्रेस पार्टी आफैँ साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिइन । “कांग्रेसले आफूलाई कमजोर बनाउन हुँदैन, वादविवाद गरेर होइन, एकीकृत हुँदै पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने बेला आएको छ, कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरुसँग भिड्न सकिन्छ”, महिला विभाग प्रमुख भुसालले भनिन् ।
कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरुप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरु सच्चिने बेला आएको बताए । उनले भने, “चैत १५ गते राजावादी भन्नेहरुले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्नका लागि पूर्वराजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उहाँको सम्पत्तिको छानबिन गर्नुपर्छ ।”
यसैगरी, राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दाबी गरेका हुन् । उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दु राष्ट्र स्थापित हुन्छ भनिरहेको जिकिर गरे । पूर्वसेनापतिको पनि अन्तर्वार्ता आएको उनले बताए ।
‘कुनै मान्छे मर्नुप¥यो भने उसको जन्मबार, तीथि, नक्षत्रमा मर्छ भन्ने मान्यता छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भएको हो यसको अन्त्य पनि २०८२ सालको जेठको १५ गते हुन्छ,’ उनले भने । उनले आफूहरूको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए ।
यस्तै,गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेत गराएको छ ।
राप्रपाले आज (आइतबार) बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाले बताएको छ । त्यसतर्फ ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयले कानुन अनुसार कारबाही हुने बताएको छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२÷०१÷०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले भनेको छ ।
संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ । ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्