काठमाडौँ, १५ चैत । प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गर्नुभएको हो ।
त्यसअघि सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयका सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो । उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र सम्बन्धितमन्त्री संसद्प्रति उत्तरदायी हुने भनिएको छ, त्यसैले उक्त सम्बन्धमा हामीलाई जवाफ चाहिन्छ ।”
कुलमानलाई हटाउने विषय सुशासनसँग जोडिएको दाबी गर्दै उहाँले उक्त विषयले नयाँ तरङ्ग सिर्जना गरेको बताउनुभयो । उहाँले अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रतिपक्षले राखेको संशोधन प्रस्तावको सम्बोधन हुन नसकेको समेत उल्लेख गर्नुभयो । “उपप्रधान तथा अर्थमन्त्रीले अध्यादेशमा भएका कमिकमजोरी र अरु ऐनसँग बाँझिएका विषयमा छलफल गर्ने भन्नुभए पनि त्यो हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
यस्तै, प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको बैठक बस्ने समय परिवर्तनसम्बन्धी सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सरेको हो ।
सूचनामा विशेष कारणले निर्धारित समयमा बैठक बस्ने नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण भएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्