काठमाडौँ, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टीले यस किसिमको निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेको जानकारी दिएका छन ।
“यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
घिसिङलाई हटाउने निर्णय गरेसँगै पार्टीबारे पनि प्रायोजित दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, “बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टी खारेज गर्दछ ।’
आमनागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी दिँदै यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन माओवादी केन्द्रको सबैमा आग्रह छ ।
यसैगरी,कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ । खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
काठमाडौँको बागबजार क्षेत्रमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राँके जुलुस निकालेको छ । अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओलीको पुतलासमेत जलाएको छ ।
ऊर्जामन्त्री दीपक खड्काको विरोध गर्दै सिंहदरबार गेटमा प्रदर्शन गर्ने पक्राउ परेका छन् ।
प्रहरीले धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा बहुमतको झन्डै एक दर्जन कार्यकर्ता पक्राउ गरेको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन् ।
उता, विराटनगरमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति नेकपा माओवादी केन्द्रनिकट वाईसीएल र विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
मंगलबार विराटनगरको ट्राफिक चौकमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । घिसिङलाई हटाउन निर्णयविरुद्ध मंगलबार देशभर विभिन्न रूपमा विरोध प्रदर्शनहरू भएका छन् । विराटनगरमा पनि साँझ कुलमानको पुनर्वहालीको माग गर्दै प्रदर्शन भएको छ ।
प्रतिक्रिया दिनुहोस्