काठमाडौँ, १ फागुन । काठमाडौँ लगायत बिभिन्न स्थानमा भएको घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ । चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अहिले पनि उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । ती आगलागीमा परेर अन्य तीन जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल विपद्का २४ घटनामध्ये आगलागीका १७, डढेलोका पाँच र वन्यजन्तु आक्रमणका दुई वटा घटना भएको जानकारी दिए । आगो ताप्ने क्रममा र खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर उक्त घटना भएका हुन् ।
प्रवक्ता डा भट्टराईले सोलुखुम्बू, दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगलागी भएको बताए । उता पाल्पामा बालकले गोठमा आगो लगाइदिँदै पाँच वटा बाख्रा र एउटा गाई मरेको छ ।
डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्