आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ, १२ मङ्सिर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गरेकी छन ।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह गरेकी हुन ।

मन्त्री डा राणाले भनिन्, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीति प्रवर्द्धन गर्नुपर्ने जरूरी देखिएको छ ।

आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई उजागर गरी निर्यात प्रवर्द्धनमा लाग्नुहोला ।”
उनले नियोग मार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।

मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताइन ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरूले आफ्ना उत्पादनहरूलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव थियो । मन्त्री डा राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय ‘प्याकेजिङ’ सहित निर्यात गर्न सुझाव दिइन ।

 

मन्त्री डा राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरूका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरूलाई आग्रह गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्