काठमाडौँ, ७ मङ्सिर । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले मुलुक सङ्घीयतामा जानुअघि लागू गरिएको रणनीतिलाई सङ्घीयताअनुकूल परिमार्जन गरिनुपर्ने बताउनुभयो ।
कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि आज काठमाडौँमा आयोजित अन्तक्र्रियामा मन्त्री अधिकारीले जीविकोपार्जनका लागि कृषिकर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्नेगरी कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकामा जोड दिनुभयो ।
सङ्घीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमता विकास हुनुपर्ने अपेक्षा गरिएकामा किसानको आवश्यकतानुसार समयमै कृषि प्राविधिक पाउन नसकिरहेको मन्त्री अधिकारीले बताउनुभयो । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकामा पनि मन्त्री अधिकारीले जोड दिनुभयो ।
विसं २०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाबीच छलफल गरी सुझाव लिएको छ । पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस्