प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

बनियानी (झापा), २ भदौः झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गर्नुभएको हो । अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताउनुभयो । “भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले ओपिडी सेवा मात्र सुरु गरेका हौँ ।” उहाँले केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको बताउनुभयो । पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उहाँको भनाइ छ ।
नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्