सबै जातजाति र भाषाभाषी एकताबद्ध हुँदा मात्रै राष्ट्रिय एकता बलियो हुने विश्वास

काठमाडौँ, १२ फागुन ।  नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै देशको राष्ट्रिय एकता बलियो हुने प्रधानमन्त्री प्रचण्डले  विश्वास व्यक्त गरेका छन । बागमती नगरपालिकाले शनिबार सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताएका हुन ।
 प्रधानमन्त्री प्रचण्डले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन । ‘विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ ।’ प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उनले शुभकामना व्यक्त गरेका छन ।
त्यस अवसरमा प्रधानमन्त्रीले सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गरेका छन । ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ  ।
कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी’ भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो ।
यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन । धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथासक्य चाँडो अगाडि बढाइने उल्लेख गरेका छन । ‘मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,’ प्रधानमन्त्रीले भने, ‘मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।’
मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्रीले मधेसी जनताको मत लिएर सङ्घीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकामा गर्व छ भने । ‘मधेस, पहाड र हिमालको एकतालाई अविछिन्न तुल्याउन सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ,’ उनले भने ।चालीस वर्षअगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायत क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे । सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै,प्रधानमन्त्री प्रचण्डले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले शनिबार उद्घाटन गरेका हुन । करिब रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ ।
यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डो¥याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डलाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गरेका छन । ‘नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन् । छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ’, स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने ।
उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन । ‘बजेट छैन भने सरकारले दिनुप¥यो । बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुप¥यो’, उनले भने, ‘हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौँ ?’
स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताइन । उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताइन । ‘झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन् । त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ’, दासले भनिन् ।
दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि । कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ । उनले भनिन्, ‘यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ । अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ । प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ ।’सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्रीलाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्