सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री प्रचण्डको दावी

काठमाडौँ, २७ माघ । सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।  राष्ट्रिय सोनाम ल्होछारका अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन र सङ्घीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको बताएका छन ।
 प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन । उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति  समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए । ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस’, प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन् ।
हालै मात्र राष्ट्रिय समन्वय परिषद्का दुईवटा बैठक सम्पन्न भएका बताउँदै प्रधानमन्त्री प्रचण्डले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए । उनले भने, ‘सङ्घीयताको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ, सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐनलगायत ऐन पारित गर्न उच्च महत्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार योद्धाले बलिदान गरेका स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्छ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे ।
सोनाम ल्होछार मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रधानमन्त्रीले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन ।
नेपाल तामाङ घेदुङ मूल समारोह समितिका अध्यक्ष वीरबहादुर योञ्जनले तामाङ समुदायको इतिहास, उक्त समुदायले राज्यमा पु¥याउँदै आएको योगदानलगायत विषयमा जानकारी गराएका छन । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान रहेको छ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग बनेको छ । नेपालमा मात्र नभई चीन, मङ्गोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिङ्गापुरमा पनि चन्द्रमासमा आधारित ल्होछार (नयाँ वर्ष) मनाइने गरेको छ । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा समुदायले मान्दछन् ।
महोत्सवका अवसरमा तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँभन्दा बढी प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायत पराम्परागत पोसाकमा सजिएका युवायुवती डम्फू र टुङ्गाको धुनमा नृत्य प्रस्तुत गरेका थिए । काठमाडौँ वरपरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, रसुवा, धादिङलगायत जिल्लामा तामाङ समुदायको जनसङ्ख्या १६ लाख रहेको बताइएको छ ।
यस वर्षको सोनाम ल्होछार बिरालो वर्षको बिदाइ र ड्रागन वर्षको स्वागत गरेर उक्त समुदायले मनाइरहेको छ । बागमती प्रदेशले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरेको छ ।समारोहमा प्रधानमन्त्रीलाई तामाङ पहिरनबाट सम्मान गरिएको थियो । समारोहमा प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेशका मन्त्री तीर्थ लामालगायत तामाङ समुदायको विभिन्न विधाका अगुवा व्यक्तित्वलाई सम्मान गर्नाका साथै विश्व कीर्तिमानी मोहन घिसिङलाई सम्मान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्