अर्थतन्त्र बलियो बन्दै गएको छ : प्रधानमन्त्री

दोलखा, १३ पुुस  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताउनुभएको छ । आज दोलखा उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो ।

“पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ ।” उहाँले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले दोलखाको उत्पादन बढाउन र पर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गत वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताउनुभयो । उहाँले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताउनुभयो । उहाँले दोलखामा ‘फिल्म सिटी’ निर्माणका लागि सरकारको सहयोग रहने समेत स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अहिले पर्यटकमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा पूर्वमन्त्री पार्वत गुरुङले मुलुकको आर्थिक अवस्था सुधारका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री जीपछिरिङ लामाले मुलुकको आर्थिक विकासका लागि दोलखामा जलविद्युत्को राम्रो सम्भावना रहेको र सरकारले लगानी गर्ने आवश्यक रहेको धारणा राख्नुभयो ।
बागमती प्रदेशका सरकारका पूर्वमन्त्री विशाल खड्काले जिरीमा विमानस्थल आवश्यक भएको भन्दै विमानस्थल निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । आजदेखि सुरु महोत्सव पुस २२ गतेसम्म चल्नेछ । महोत्सवका क्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्