पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै छन् : अध्यक्ष ओली

चितवन, १३ पुस  । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै रहेको बताउनुभएको छ ।
कालिका नगरपालिकाको भिमोदय नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले पाठ्यक्रमसँगै बाह्य विषयमा ज्ञान हाँसिल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोर्ष साँघुरो अध्ययन मात्रै होइन, कोर्षमा अध्ययन गरेर विशिष्टता हासिल गर्नुप¥यो, कोर्ष विद्यालयका किताबमा हुन्छ, त्योभन्दा बाहिर सिक्ने कुरा धेरै छन् ।”

कोर्ष बाहिर बुझ्ने धेरै कुरा भएको उल्लेख गर्दै उहाँले सिक्ने र अपनाउनेसमेत धेरै कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी ‘स्टार’ हुनुपर्दछ, बालबालिकालाई विशेष व्यक्तित्व, विशिष्ट व्यक्तित्वका रुपमा विकास गर्ने प्रयास गर्नुपर्छ ।” परिवार र समाजका लागि एउटा दृष्टान्त नागरिकका रुपमा यहाँका विद्यार्थीहरु आउनुपर्ने उहाँले बताउनुभयो ।

ओलीले भन्नुभयो, “आफ्नो घरको आँगनको मात्रै नभइ प्रसान्त महासागरमा पौडी खेल्नसक्ने हुनुपर्छ ।” उहाँले शिक्षा मनोबल उठ्ने खालको हुनुपर्ने उल्लेख गर्दै विद्यार्थी असफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बिदा नमिल्दा असफल हुने हुन, रुची एउटामा हुन्छ, पढ्न अर्कोमा पर्छ, रुचीअनुसारको विषय पढ्न पाउनुपर्छ ।”

विद्यार्थीलाई पहिले नै फेल भनेर हतोत्साहित गर्न नहुने उहाँको सुझाव थियो । रोजगारी खोज्ने नभइ उद्यमशिलता विकास गरेपछि अरुलाई रोजगारी दिन सकिने उहाँले बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले विद्यालयको स्वर्णद्धार, स्वर्ण स्तम्भ र स्वर्ण स्मारिक अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा क्षेत्रको विकासका लागि स्थानीयस्तरबाट सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कमलप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य मछिन्द्र पाण्डे, विद्यालयका प्रध्यानाध्यापक इन्द्रनाथ पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्