उद्यौली, चासोक तङ्नाम र यःमरी पुन्हि पर्वमा विभिन्न कार्यक्रम

काठमाडौँ, ११ पुस । झापा दमकमा किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी भव्य रुपले मनाएका छन् । किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाएको हो ।  किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उद्यौली सुरु हुने किरात इतिहासका अध्येयतासमेत रहेका किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष हरि चोङबाङले जानकारी दिए । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन रहेको उनले बताए । उनका अनुसार यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गर्दछन् ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसितिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको चोङबाङको भनाइ थियो ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःखयीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको जिल्लास्थित चुम्लुङका अध्यक्ष शेसेहाङ फियाकले बताए ।
आफूले लगाएको बालीनाली पाकेपछि माङलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा मानिएको यस चाडमा सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिआएको उनको भनाइ थियो ।‘लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनुअघि लिम्बूका आदिम पूर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे । जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे ।
यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराइदिएको भन्ने किबदन्ती छ’, शेसेहाङ फियाकले भने ।पर्वका अवसरमा किरातजन्य सङ्घ संस्थाले आफ्ना सघन बसोबास भएको स्वदेशका मूलत कोशी प्रदेशभरि र विदेशमा विशेष उत्सवका साथ मनाउँदै आएका चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।
आदिमकालदेखि यी समुदायले प्रकृतिको पूजा गरी यो चाडलाई सारा पृथ्वीजगतको रक्षार्थ कामनाका साथ सामूहिक रुपमा पूजाआजा गर्नुका साथै आफना सांस्कृतिक कला प्रस्तुत गरी मनोरञ्जन गरेर मनाउने गरिआएको उनको भनाइ थियो । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने र उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको अध्यक्ष एक्तेन बताए  ।
यसैगरी, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् ।
यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन  बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन ।
आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्