सरकारको मूल एजेण्डा  सुशासन, समृद्धि र सामाजिक न्याय भएको दावी  

काठमाडौँ, ११ पुस । सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन । साउथ एसिया नेटवर्क टिभीले मंगलबार आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने बताएकी छन । उनले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताइन ।
यसलाई कार्यान्वयन गर्ने सवालमा कमीकमजोरी भएमा सञ्चारमाध्यम तथा पत्रकारले स्वस्थ आलोचना तथा खबरदारी गर्नु सकारात्मक रहेको मन्त्री शर्माले भनाइ थियो ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक अधिकार पनि पूर्ण नहुने भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको राजनीतिक अधिकार नेपालमा स्थापित भएको मन्त्री शर्माले बताए । उनले भनिन् ‘विगतमा हामीले प्राप्त गरेका सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।’
सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सुरु भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध भने सयौँ वर्षअघिदेखिको भएको मन्त्री शर्माले बताइन । ‘यस क्षेत्रको मानव सभ्यताको विकाससँगै नेपाल र चीनबीचको सुमधुर सम्बन्ध रहँदै आएको पाइन्छ । भृकुटी, अरनिकोजस्ता विभूतिले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गरेका छन’, उनले भनिन् ।
सदियौँदेखिको नेपाल र चीनबीचको सम्बन्ध अझ बढी प्रगाढरुपमा अघि बढिरहेको मन्त्री शर्माको भनाइ थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरीय भ्रमण पनि हुँदैआएका उनले बताइन । पछिल्लो समय विश्वभरि देखिएको आर्थिक सङ्कुुचनको असर सञ्चारमाध्यममा पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएका चुनौतीको सामना गर्नु साझा सरोकार भएको बताइन ।
उनले भनिन्, ‘नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया थालनी गरिएको छ । सूचना प्रविधिका पछिल्ला आविष्कार प्रयोग गर्दै सबैखाले सञ्चारमाध्यमलाई डिजिटल प्लेटफर्ममा लैजानु अनिवार्य नै भइसकेको छ ।’ सरकार–सरकार र जनता–जनताबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन दुवै देशका सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि यस्ता सम्मेलन फलदायी हुने बताइन ।
कार्यक्रममा नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङ चीन्, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका सञ्चालक किशोर श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी, साउथ एसिया नेटवर्क टिभीका संस्थापक हाउ झिहोङलगायतले नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सम्बन्ध विस्तारमा सञ्चारमाध्यको भूमिकाका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा चीनबाट आएका विभिन्न सञ्चार संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपालका विभिन्न सञ्चार संस्थाका प्रमुख, प्रतिनिधिलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्