२०८० को दशक तीव्र विकासको दशक हुने प्रधानमन्त्रीको दावी

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री प्रचण्डले नेपालको जलविद्युत् क्षेत्रमार्फत विकास र समृद्धिको लक्ष्य हासिल गर्न ठूला जलविद्युत् आयोजनाको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन । सरकारका एक वर्षको उपलब्धिको विवरण सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रम तथा देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको ध्यान अब ‘गेम चेञ्जर’ ठूला जलविद्युत् आयोजनामा केन्द्रित हुने बताए ।
नेपालले छिमेकी मुलुकमा विद्युत् बजार पाउनसक्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सरकारले सोही अनुरुप विद्युत् उत्पादन, प्रसारण तथा वितरण र बजार व्यवस्थापनको योजना बताइरहेको बताए । छिमेकी मुलुक भारत, बङ्गलादेश र चीनसमेत नेपालको  विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले अब सरकार ‘गेमचेन्जर’ ठूला जलविद्युत् आयोजनाहरूमा लागेको प्रधानमन्त्री प्रचण्डले बताए ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अबको तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए ।
त्यस्तै, केही ठूला आयोजनामा लगानी जुटाउने प्रयास भइरहेको उनले बताए । ‘एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनालाई सरकारका तर्फबाट पर्याप्त सहजीकरण भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको छ ।’
आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिब पाँच सय ६४ मेगावाट विद्युत् उत्पादन हुनेछ । हालसम्म नौ हजार एक सय ६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र जसमध्ये यस वर्षमात्र करिब दुई हजार दुई सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
‘सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिँचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने छ सय ७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेकोछु ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन । प्रधानमन्त्री प्रचण्डले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए । ‘यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने पाँच सय ८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छ’, उनले भने, ‘यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन ।’
नारायणगढ–बुटवल खण्ड वा मुग्लिन–पोखरा खण्डकै उदाहरण लिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्ती प्रचण्डले भने, ‘जनताले बाटो भत्केको व्याख्या गरिरहेका छन्, जबकि बाटो त बनिरहेको छ, समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्यमात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नुपरेको छ ।’
अब पूर्वाधारमा कम्तीमा दुई ‘सिफ्ट’को प्रत्याभूति हुने र सकेसम्म ‘ब्यारेक मोडल’मा लैजाने गरी मैले नीतिगत र व्यावहारिक छलफल गरिरहेको स्पष्ट गर्दै उनले भने, ‘८० को दशक तीव्र विकासको दशक’ भन्ने सङ्कल्पसँगै पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्नैपर्छ ।’ सम्बोधन समारोहमा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत उच्च सरकारी अधिकारीको उपस्थिति थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्