नेपाल सुपर लिगमा काठमाडौं रेजर्ससँग ललितपुर सिटी १–० ले पराजित

 

काठमाडौं, ८ पुस । नेपाल सुपर लिगमा काठमाडौं रेजर्ससँग ललितपुर सिटी १–० ले पराजित भएको छ । जितसगै साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिग २ को प्लेअफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शानिबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । यस हारले ललितपुर भने चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ ।

 

झापा भने यस नतिजाले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गर्न पुग्यो । ललितपुर, झापा, र बुटवलको समान १०–१० अंक भएपनि हेड टु हेडमा ललितपुर अघि रहेको हो । एनएसएलको क्वालिफायरमा अब सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब खेल्नेछन् । उक्त कहिले जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका निम्ती विहीबार एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

एलिमिनेटरमा मंगलबार पुनः ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स नै खेल्नेछन् । खेलको दोस्रो मिनेटमा नै काठमाडौंका अमित तामाङको क्रस ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले समाते । छैठौं मिनेटमा ललितपुरका निखिल कदमका लागि पोस्टमा प्रहार गर्ने राम्रो अवसर थियो तर उनले पास खेल्न खोजेपछि मौका खेर गयो । सोही मिनेटमा अर्कोतर्फ काउन्टरमा शोखरूखको प्रहार ओमोलाजा करिमले ब्लक गरे ।

१०औं मिनेटमा दिनेश हेन्जनको क्रसमा कदमले एक्रोबेटिक प्रहार गर्न खोज्दा बलमा सम्पर्क बनाउन सकेनन् । २०औं मिनेटमा ललितपुर स्ट्राइकर पापा केबेको क्रस अमित तामाङले क्लियर गरे । ३४औं मिनेटमा पापाले निखिलका लागि खेलेको थ्रु–पास काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठ बक्सको छेउमा आएर क्लियर गरे ।३६औं मिनेटमा अनन्त तामाङको फ्रिकिक आकाशियो । ४३औं मिनेटमा भने ललितपुरलाई एक गोल पछाडि हुनबाट क्रसबारले बचायो ।

शोखरुखको फ्रिकिक बाल्टुसको पहुँचबाट टाढा क्रसबार्मा लाएर फर्कियो । थपिएको समयको पहिलो मिनेटमा शोखरुखको प्रहार अनन्तलाई लागेर बाहिरियो । त्यसपछिको कर्नरमा भने काठमाडौँले अग्रता लियो । छोटो कर्नर खेलेर तोजीदिनोभ कोमीवनले खेलेको क्रसमा आन्द्रेस नियाले हेडर मार्फत गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए । ५५औं मिनेटमा निखिलले पापाका लागि खेलेको पास किङ्गे ओलिभरले रोके ।

५९औं मिनेटमा शोखरुखको फ्रिकिक पोस्टको निकै टाढाबाट बाहिरियो ।
६२औं मिनेटमा एन्जलले पापाको प्रहारको उत्कृष्ट बचाउ गरे । ७१औं मिनेटमा बाल्टुसको क्लियरेन्स इमोहका लागि वान अन वान अवसरमा परिणत भएको थियो । तर एन्जल बक्सबाहिर आएर क्लियर गरे । ७५औं मिनेटमा काठमाडौं १० जनामा सिमित भयो । खेल अन्तै चलिरहेको बेला अमित तामाङले निखिल कदममाथि हेडबट गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फोर्थ अफिसियलको सुझाव लिएर अमितलाई रातो कार्ड देखाएका थिए ।

एक जनाको अग्रता भएतापनि ललितपुरले गोल भने गर्न सकेन । ८४औं मिनेटमा एन्जल बिट भइसकेपछि कुलदीप कार्कीले गोलपोस्ट अगाडिबाट इमोहको पास सानदार ढंगले क्लियर गरेर गोल हुनबाट बचाए । थपिएको समयको पहिलो मिनेटमा सनिश श्रेष्ठको क्रसमा पापाले सिक्स यार्ड बक्स भित्रबाट बललाई जाली तर्फ प्रहार गर्न सकेनन् । यस खेलसँगै एनएसएलको लिग चरण पनि समाप्त भएको छ ।

पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भयो । तेस्रो स्थानमा काठमाडौं रेजर्स र चौथो स्थानमा ललितपुर सिटी रहे । झापा र बुटवल लुम्बिनी १०–१० अंकसहित पाँचौ र छैटौं तथा चितवन ९ अंक जोड्दै तालिकामा रहे । वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम समान ८–८ अंकका साथ अंक तालिकाको पुछारको दुई स्थानमा रहे ।

 

प्रतिक्रिया दिनुहोस्