लोकतान्त्रिक व्ववस्था उल्ट्याउन खोज्ने तत्वको जनस्तरबाटै प्रतिरोध गर्न आग्रह,

काठमाडौँ, ३० मंसिर  । संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध सङ्घर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’
प्रधानमन्त्री प्रचण्डले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन । उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो संस्कृतिको संरक्षण र संवद्र्वन गर्नु सबैको दायित्व भएको बताए ।
नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।
‘अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन’, उनले भने, ‘लोकतन्त्रमा मात्रै सबै संस्कृति समानरूपमा मौलाउन र विकास हुन सक्छन् ।’
उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे । कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेताहरु राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन । मकवानपुरको हेटौँडामा शनिबार मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए । ‘विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्तिको सन्देश पनि नेपालले नै दियो । मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।’ मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उहाँले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे ।
‘विभिन्न धर्म, राजनीतिक वाद, जेजे भनिए पनि ती सबै मानव सेवाका लागि ल्याइएको हो । कुनै पनि रुपमा विभाजित नभएर एकताबद्ध भएर मानव सेवामा लाग्नुहोला, असहायलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो’, प्रधानमन्त्री प्रचण्डले भने । उनले सङ्घ, प्रदेश र स्थानीय तहलाई मानव सेवाको अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने भन्दै मानवताको क्षेत्रमा अविचलित रुपमा खटिइने सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्नसमेत अपिल गरे ।
संविधानसभाबाट जारी संविधानले ऐतिहासिक रुपमा आमजनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको इतिहासमा कहिल्यै पनि जनता सार्वभौम भनेर संविधानमा उल्लेख गरिएको थिएन । संविधानसभाबाट बनेको पहिलो संविधानमा नेपाली जनतालाई सार्वभौम बनायो, यो युगान्तकारी र ऐतिहासिक छ ।’संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत महत्वपूर्ण मौलिक अधिकारलाई समावेश गरिएको छ जनाउँदै उनले आम जनतालाई सार्वभौम बनाउने र कोही पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाबाट वञ्चित हुन नपर्ने घोषणा ऐतिहासिक छन् भने ।
संविधानले निर्दिष्ट गरेको तथा राज्यले गर्नुपर्ने काम मावन सेवा आश्रमले गर्दै आइरहेकामा प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिए । मौलिक हकको कार्यान्वयका क्रममा मानव सेवा आश्रमले ठूलो सहयोग गरेको उनको भनाइ थियो । उनले विसं २०८२ सम्म नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने सरकारको अभियानमा सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण, सडक मानवलाई उद्धार गर्न सवारी सधानको व्यवस्था तथा १० हजार असहायलाई आर्थिक सहयोग गर्न सरकार तयार रहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्