जानकी (बाँके), २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो ।
“राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ”, प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।”
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन पनि प्रधानमन्त्री प्रचण्डसँगै रोल्पा जानुभएको छ । सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सांसद नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उद्घाटनका लागि प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्