नेपाललाई हरेक क्षेत्रमा सवल र सफल बनाउन महासचिवको आग्रह

काठमाडौँ, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गरेका छन । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न  सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका हुन ।
 नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन । महासचिव गुटेरेसले भने, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।’
शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट  प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे । उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए ।
महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार  नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन् गरेर काम गर्नुपर्ने बताए ।
नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो ।
यस्तै, महासचिव गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन ।  सगरमाथा क्षेत्रको अवलोकनका लागि सोमबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका थिए । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै  महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गरेका छन ।
‘म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन’, गुटेरेसले भने, ‘हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।’
जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उनले उल्लेख गरेका छन । ‘हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ’, उनले भिडियो सन्देशमार्फत् भनेका छन ।
यसैगरी, महासचिव गुटेरेस सोमबार नै पोखरा पुगेका छन । महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा गएका हुन ।
गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको थियो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरेका थिए ।
विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो । गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए ।
महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गएका थिए । उनि सोमबार पोखरा बस्ने र मङ्गलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ ।
यसैबीच, महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ ।
विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका छन् ।
महासचिव गुटेरेस मङ्गलबार बिहान करिब ९ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी विकास कोषले महासचिव गुटेरेस हिँड्ने सडकलाई कालोपत्र गर्नेदेखि सरसफाइलाई विशेष ध्यान दिएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित लुम्बिनी आउन लागेका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाइ, सौन्दयीकरणदेखि सुरक्षासम्मको तयारी अन्तिम चरणमा पुगेको विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले जानकारी दिएका छन । महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रुपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीले आपसी समन्वयमा तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्