राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट नेपालको प्रतिष्ठामा अभिवृद्धि हुने, महासचिवको भ्रमणलगत्तै कतारका राजा  नेपाल भ्रमणमा आउने

काठमाडौँ, ११ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका छन । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न महासचिव  गुटेरेसको भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले नेपालको कूटनीतिक सफलताको परिणामस्वरुप उच्चस्तरीय भ्रमण हुन लागेको बताए ।
‘यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरुप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पु¥याउने विश्वास व्यक्त गरे । ‘मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकासनिर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ’, उनले भने ।
आफूँले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरुका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको उनको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गर्न गरेका छन । चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा उनले नै सुरु गरेको स्मरण गर्दै उनले आपसी एकता र सद्भाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएको बताए ।
यसैगरी, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन ।
बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’
राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । सभापति देउवाले भने,‘ राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य होइन भने । उनले भने, ‘दलभित्रको फरक मत हुन सक्लान,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबीच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरुप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
यस्तै,नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन । कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका छन ।
सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’  कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको थियो । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्