हालसम्म ३८ हजार डेङ्गुबाट सङ्क्रमित, २० जनाको मृत्यु

काठमाडौँ, २४ असोज ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत) छन् । त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत),  लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) सङ्क्रमण देखिएको छ ।
 जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) सङ्क्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (तीन दशमलव नौ प्रतिशत), र काठमाडौँमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत)  सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना (१५ दशमलव नौ प्रतिशत) डेङ्गुबाट सङ्क्रमित भएका छन् ।
कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११  सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् । गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।
महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित  घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेङ्गु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसैगरी, जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरेका छन । स्वास्थ्य कार्यालयले पनि डेङ्गी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता आँैल्याउँदै मङ्गलबार डेङ्गी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो ।
जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिए । अहिले डेङ्गी परीक्षणको कीट नभएकोले रगत  परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।’ धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो ।
अस्पतालमा आउने बिरामीमध्ये  ३० प्रतिशत ज्वरोका मात्रै भएको  तथ्याङ्क छ । ‘दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, ‘अहिलेको महामारी भएकोले सबैको डेङ्गी परीक्षण गर्न चाहे पनि सकिएको छैन ।’ अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेङ्गीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेङ्गीका बिरामी धेरै भेटिएको बताउँदै उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ भने ।
 कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए । चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्