‘युगसापेक्ष प्रविधिको विकास गर्न नसक्दा नेपाल पछाडी प¥यो’

धुलिखेल, २४ असोज । युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपतिले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका हुन ।

राष्ट्रपति पौडेलले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताएका छन ।
नेपालको लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुआत गर्नेे प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताए ।

केन्द्रले नेपालको प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज–अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए ।विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि योगदान गर्न आह्वान गरेका छन ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा बुधबार आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिए ।

उनले नीति–निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास’ भनिहरनुपर्ने अवस्था नआउने बताए । आफ्नो क्षमता विस्तार गर्दै इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिए । मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताएका छन ।

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गरे । उनले पुनः प्रश्न गरे, ‘परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो ? १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त ? सेवाग्राहीलाई दिने न्याय यही हो ?’ यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटिइभिटीको पुनःसंरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गरे । उनले स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सुझाव पनि दिए ।

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धिलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गरेका थिए । गोष्ठीमा सिटिइभिटीका सात प्रदेश प्रमुख तथा आङ्गिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार देशभर सिटिइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्