अझै जोखिएन ब्रेक शुमा लुकाएर ल्याइएको सुन, भन्सारको पत्र पर्खिंदै टक्सार महाशाखा

100+ KG(s) - Sun Kanda Nepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर छुटेको ठूलो परिमाणको सुन अझै जोखिएको छैन ।

साउन २ गते मंगलबार राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

क्याथे प्यासिफिक एयरवेजको जहाजमा हङकङबाट आएको मोटरसाइकल/स्कुटरका ब्रेक शुमा लुकाएको अवस्थामा सुन बरामद गरेको थियो ।

रेडी ट्रेड प्रालिले मगाएको उक्त ब्रेक शुमा अन्दाजी ८० देखि १०० किलो सुन हुनसक्ने विभागको अनुमान छ। १५५ किलो बराबर रहेको उक्त सामानमा कम्तीमा पनि त्यति सुन हुनुपर्ने अनुमान गरिए पनि अहिलेसम्म तौलिएको छैन ।

सुन तौलिन विभागले साउन ४ गते नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सामान बुझाएको थियो। ब्रेक शुसहितको आठ वटा बाकस तौलिए पनि अन्य प्रक्रिया भने अघि बढाइएको छैन ।

महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार अहिलेलाई उक्त सुन ‘कस्टडी’मा मात्रै राखिएको छ ।

कागजका बाकस (कार्टुन) हटाउने, सुनलाई ब्रेक शुबाट छुट्याउने र गलाउने काम गर्न भन्सार विभागको पत्र चाहिने उनले बताए। उक्त पत्र आएपछि मात्रै थप प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

‘अहिलेलाई हाम्रो कस्टडीमा छ। भन्सारको पत्र नआइ त्यो सुन छुट्याउने, गलाउने काम सुरू हुँदैन,’ उनले भने ।

पत्र आएपछि भन्सारसहितका प्रतिनिधिहरूको रोहबरमा काम अघि बढाउने उनले बताए ।

स्रोतका अनुसार भन्सारले केही दिनमा पत्र पठाउने तयारी गरेको छ ।

यसरी अवैध रूपमा भन्सार छलेर सुन भित्र्याएको सुराक पाएपछि राजस्व अनुसन्धान विभागले अपरेसन सञ्चालन गरी उक्त परिमाणको सुन बरामद गरेको हो ।

सुन भित्र्याउने प्रकरणमा संलग्न १६ जनालाई विभागले पक्राउ गरिसकेको छ ।

यसमा एक जना चिनियाँ र भारतीय नागरिक समेत पक्राउ परिसकेका छन्। विभागले यसमाथि थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्