नयाँ अध्ययन भन्छ- विश्वभरि असर पार्ने आन्द्र महासागरको ‘ओसन करेन्ट’ चाँडै बन्द हुनसक्छ

AMOCT

एउटा नयाँ अध्ययनले आन्द्र महासागरमा बहने ओसन करेन्ट यसअघि सोचिएको भन्दा निकै चाँडो बन्द हुनसक्ने औंल्याएको छ ।

हिजो (मंगलबार) नेचर जर्नलमा छापिएको ‘वार्मिङ अफ अ फोर्थकमिङ कोल्याप्स अफ द एटलान्टिक मेरिडिओनल ओभरटर्निङ सर्कुलेसन’को लेखमा सन् २०२५ मै आन्द्र महासागरको ओसन करेन्ट बन्द हुनसक्ने उल्लेख गरिएको सिएनएनले जनाएको छ ।

एटलान्टिक मेरिडिओनल ओभरटर्निङ करेन्ट (एएमओसी)  आन्द्र महासागरको पानीको एउटा प्रणाली हो। जसले विश्वकै मौसम र जलवायु मा प्रभाव राख्छ ।

समुद्रको पानी भूमध्य रेखाको आसपासमा तातिएको हुन्छ। तातिएको पानी उत्तर र दक्षिणतिरका ध्रुवमा बगिरहेको हुन्छ। ध्रुवको नजिकमा पुगेको पानी चिसो हुन्छ र नुनिलो मात्रा थपिँदा पानीको घनत्व बढ्छ। चिसो पानी गहिराइमा जान्छ। डिप सीमा पुगेको पानी दक्षिणतिर सर्छ। तातिएको पानी ध्रुवतिर बग्ने प्रक्रिया वार्म करेन्ट भनिन्छ भने चिसिएको पानी भूमध्य रेखातिर जाने प्रक्रियालाई कोल्ड करेन्ट भनिन्छ। यो क्रम निरन्तर चलिरहन्छ। यिनै करेन्टका कारण  पृथ्वीको सतहको जलवायुमा असर परिरहेको हुन्छ ।

आन्द्र महासागरको एएमओसीले त्रिकोणात्मक विशाल कन्भेयर बेल्टको रूपमा काम गर्छ। यसले उष्ण क्षेत्रबाट तातो पानीलाई उत्तर एटलान्टिकतिर लैजान्छ। ध्रुवतिर गएको पानी चिसो हुन्छ र धेरै नुनिलो हुन्छ। त्यसपछि यो गहिराइमा डुब्छ र दक्षिणतिर फैलिन्छ ।

यो प्रक्रिया पानीको तापक्रम र नुनिलोको मात्राको सन्तुलनमा अडिएको हुन्छ ।

एएमओसी बन्द हुँदा हिउँद निकै चिसो हुने र समुद्रको सतह बढेर युरोप र अमेरिकाका धेरै ठाउँमा असर पार्ने र उष्ण क्षेत्रको मनसुनमा व्यापक परिवर्तन हुन सक्छ ।

जलवायु संकट बढ्दै जाँदा समुद्रको तापक्रम र नुनिलोपनको मात्रा फरक पर्ने भएकाले एएमओसीमा असर पर्ने चेतावनी वैज्ञानिकहरूले पहिलादेखि नै दिइरहेका थिए ।

समुद्रको तापक्रम बढ्ने र हिउँ पग्लिने भयो भने समुद्रमा स्वच्छ पानीको मात्रा धेरै हुन्छ। त्यसले पानीको घनत्व कम गर्छ र पानी धेरै तलसम्म पुग्दैन। समुद्रको पानी जति धेरै स्वच्छ हुन्छ वा तातो हुन्छ त्यसले एएमओसीको कन्भेयोर बेल्ट बन्द हुन सक्छ ।

सुरूमा वैज्ञानिकहरूले यो शताब्दीको अन्त्यतिर एएमओसी बन्द हुन सक्ने औंल्याएका थिए। तर पछिल्लो अनुसन्धानले विश्व तापमान बढाउने मानवीय गतिविधि बढ्दै जाने हो भने दुई वर्षपछि अर्थात् सन् २०२५ मा नै एएमओसी बन्द हुन सक्ने उल्लेख गरिएको छ ।

AMOC

यस्तो घटना १२ हजार वर्ष पहिला पनि भएको थियो।  त्यतिबेला तीव्र रूपमा हिमनदी पग्लिएपछि एएमओसी बन्द भएको थियो। त्यतिबेला उत्तरी गोलार्द्धमा एक दशकमै तापक्रम १० देखि १५ डिग्रीसम्म तलमाथि भएको थियो।

‘फेरि एएमओसी बन्द भए संसारका सबै मानिसलाई असर पर्नेछ र त्यो निकै ठूलो र महत्वपूर्ण हुनेछ,’ नयाँ अध्ययनमा संलग्न वुड्स होल ओसनोग्राफिक इन्स्टिच्युसनका अध्यक्ष पिटर डि मेनोकालले भनेका छन्।

सन् २०१९ मा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तर-सरकारी प्यानलले एएमओसी यो शताब्दीपछि कमजोर हुन सक्ने तर सन् २१०० भन्दा अघि त्यस्तो हुने सम्भावना नरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

अहिलेको अध्ययनले एएमओसी पहिला सोचिएभन्दा निकै चाँडो बन्द हुन सन्के निष्कर्ष निकालेको हो।

एएमओसीको निरन्तर अनुगमन सन् २००४ देखि मात्र थालिएको हो। त्यही भएर यो अध्ययनका अनुसन्धानकर्ताहरूले निकै पुराना तथ्यांकहरूलाई पनि विश्लेषण गरेका छन्।

‘हामी धेरै परको समयमा जानु पर्‍यो,’ युनिभर्सिटी अफ कोपनहेगनका प्राध्यापक तथा यो रिपोर्टका लेखक पिटर डिट्लेभ्सनले भनेका छन्।

उनका अनुसार वैज्ञानिकहरूले ग्रिनल्यान्डको दक्षिणी भागमा उत्तर एटलान्टिक महासागरको सतहको पानीको तापक्रमबारे १५० वर्ष अर्थात् सन् १८७० देखि २०२० सम्मको तथ्यांक विश्लेषण गरेका थिए।

समुन्द्रको यो भाग एएमओसीले उष्ण क्षेत्रबाट लैजाने पानीले तात्ने गर्छ।

‘यो क्षेत्रको पानी चिसो हुनु भनेको एएमओसी कमजोर हुनु हो,’  डिट्लेभ्सनले भने।

एएमओसीको अध्ययन गर्दा केही चेतावनीपूर्ण संकेतहरू फेला परेपछि आफूहरूले सन् २०२५ मै एएमओसी बन्द हुन सक्ने निष्कर्ष निकालेको उनले बताए।

सन् २०३९ देखि २०७० को बीचमा कुनै पनि बेला एएमओसी बन्द हुन सक्ने सम्भावना रहेको उनले बताए।

‘यो साँच्चै डरलाग्दो छ’ डिट्लेभ्सनले भने,‘यो कुरा रिसर्च पेपरमा सामान्य रूपले उल्लेख गर्ने विषयमात्र होइन।’

ओसनोग्राफिक इन्स्टिच्युसनका अध्यक्ष पिटर डी मेनोकालले यो अध्ययनको निष्कर्ष आश्चार्यजनक र चेतावनीपूर्ण  रहेको बताए।

अध्ययनको निष्कर्षले आउने केही दशकमै एएमओसी कमजोर हुने स्पष्ट भएको उनले बताए। सन् २०२१ मा भएको अर्को एक अध्ययनले पनि एएमओसी अस्थिर हुँदै गइरहेको देखाएको थियो।

तर अहिलेसम्म कसैले पनि यो ठ्याक्कै कहिले रोकिन्छ भन्न सकेका थिएनन्।

‘नयाँ अध्ययनले एएमओसी कहिले बन्द हुन सक्छ भन्नेमा केन्द्रीत रहेर नवीन विश्लेषण गरेको छ,’ डी मेनोकालले भने,‘सन् २०५०को आसपासमा एएमओसी बन्द हुने अध्ययनको भविष्यवाणी चेतावनीपूर्ण छ।’

एएमओसी तत्कालै बन्द हुन लागेको भन्नेचाहिँ अवलोकनमा आधारित प्रमाणले नभनेको उनले बताए।

अरू वैज्ञानिकहरूले पनि एएमओसी ठ्याक्कै कहिले बन्द हुन्छ भन्न नसकिने बताएका छन्।

‘एएमओसी कुन बिन्दुमा पुगेर ठ्याप्पै रोकिन्छ भन्नेबारे अझै पनि ठूलो अनिश्चितता छ तर यो अध्ययनले त्यो बिन्दु हामीले पहिला सोचेभन्दा निकै नजिक हुन सक्छ भन्ने प्रमाण देखाएको छ,’ जर्मनीको युनिभर्सिटी अफ पोट्सडामका प्राध्यापक स्टेफ राह्मस्टोर्फले भने,‘अहिलेको वैज्ञानिक तथ्य के हो भने एएमओसी अर्को दशकमा नै बन्द हुनसक्छ भन्ने कुरालाई हामी नकार्न सक्दैनौं।’

उक्त अध्ययनले विश्व तापमान घटाउन र ध्रुवीय क्षेत्रमा हिउँ पग्लिन रोक्नका लागि विश्व तापमान बढाउने प्रदुषणलाई शून्यमा झार्न तत्काल र प्रभावकारी कदम चाल्न सुझाव दिएको छ।

‘यो अध्ययनको मुख्य बुँदा भनेको यो सबै गर्न हामीसँग धेरै समय छैन भन्ने हो,’  डि मेनोकालले भने, ‘र चुनौतीहरू निकै बढिसकेका छन्।’

प्रतिक्रिया दिनुहोस्