विपद् पीडितलाई राहत वितरण गर्न कार्यबाहक प्रधानमन्त्रीको निर्देशन

Purna Bahadur Khadka

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई विपद्को पूर्व आकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रूपमा समन्वय गरी काम गर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्यसचिव,  प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू सहितको बैठकले पीडितलाई राहत वितरण गर्न समेत निर्देशन दिएको छ।

कार्यबाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन निर्देशन समेत दिएका छन्।

बैठकले पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानूनी बाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको रक्षा मन्त्रालयले जनाएको छ।

सो छलफलका क्रममा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सम्बन्धित अधिकारीहरूले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो, जनधनको क्षति  र राजमार्ग अवरूद्ध लगायतका विषयमा जानकारी गराएका थिए।

खड्काले बाढी पहिरो लगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरूद्ध भएका राजमार्ग तत्काल सुचारू हुने व्यवस्था मिलाउनका साथै विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न भनेका छन्।

प्रतिक्रिया दिनुहोस्